९ मंसिर २०८१, आईतवार
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावरचाइना कम्पनीबीच काठमाडौं(कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग निर्माण गर्ने संयुक्त विकास सम्झौता भएको छ ।
सम्झौता अनुसार, पावरचाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशससम्म लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापन गर्ने सहमती गरेको छ । साथै पावरचाइनाले ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्वटीमा लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ ।
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावरचाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरि सकेको छ। पुनरावलोकन पश्चात यस परियोजनामा सडकको कूल लम्वाई मध्ये ४४ प्रतिशत सुरुङ्ग तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भ मैत्री रहने विश्वास कम्पनीले लिएको छ । तत्कालिन उपप्रधानमंत्री तथा परराष्ट्र मंत्री कृष्ण बहादुर महराको उपस्थितिमा २०१७ मेमा बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनको अवसरमा दुई कम्पनीहरुबीच ईपिसी कन्ट्राक्टमा हस्ताक्षर भएको थियो ।
गत शनिबार दुई कम्पनीबीच भएको सम्झौतापत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मंत्रालय र प्रदेश ३ को सरकार समक्ष पेश गरिसकेको कम्पनीले जनाएको छ। साथै यस परियोजनामा केन्द्रिय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको छ।