विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणसम्बन्धी सम्झौता

होमल्याण्ड खबर

२०७९ भाद्र १० गते, शुक्रबार १५:४४ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालनसम्बन्धी सम्झौता भएको छ। शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच यस्तो सम्झौता भएको हो ।

यस्तै विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच सशस्त्र प्रहरीका इकाइहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्‍याउने सम्बन्धी सम्झौता पनि भएको छ । गैर नवीकरणीय उर्जा घटाई नवीकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्दै ग्यासको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरुप प्राधिकरणले काम गरिरहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यो सम्झौताले प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गरे । सम्झौता अनुसार सशस्त्र प्रहरीका २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा संचालन सशस्त्र प्रहरीले गर्ने सम्झौतामा उल्लेख छ।

इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सवै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सवै गुल्महरूको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।