पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

होमल्याण्ड खबर

२०७९ भाद्र १० गते, शुक्रबार १६:४४ मा प्रकाशित

पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ८२९ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार ९४३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८० हजार ६६३ पुगेको छ ।