आगलागीपछि खानेतेल बोकेको ट्रक त्रिशुलीमा खस्यो

होमल्याण्ड खबर

२०७९ भाद्र १२ गते, आईतवार १०:५१ मा प्रकाशित

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा ट्रक दुर्घटनामा परेको छ । विराटनगरबाट खानेतेल बोकेर काठमाडौं जाँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशुली नदी किनारमा पुगेको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी भावेश रिमालले बताए ।

डिएसपी रिमालका अनुसार खानेतेल बोकेर काठमाडौं जाँदै गरेको ट्रक अचानक आगलागी भइ सडकबाट त्रिशुली नदी किनारमा खसेको हो । ट्रक बिग्रेको र बाटोमा बनाउँदै आएको चालकले जानकारी दिएका छन् । ट्रकको इन्जिनबाट आगलागी भइ दुर्घटना भएको हो । मानवीय क्षति भने हुन पाएन । ट्रकले ल्याएको तेलमा ठूलो क्षति नपुगेपनि ट्रकको अगाडिको भाग जलेको डिएसपी रिमालले बताए ।

इलाका प्रहरी कार्यालय गजुरीका डिएसपीसहितको जनपथ प्रहरीको टोली र आदमघाटस्थित शशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको हो । प्रहरी र स्थानीयले समयमै उद्दार गर्न सकिएकोले दुर्घटनास्थलमा मानवीय क्षति हुनबाट जोगिएको डिएसपी रिमालले बताए । तेल बोकेको ट्रकमा आगो सल्किए पनि समयमै आगो नियन्त्रणमा लिन सकिएकोले थप क्षति हुनबाट जोगिएको उनको भनाई छ ।