२९ बैशाख २०८३, मंगलवार
गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको छ। १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको हो।
३० चैत ०७१ मा नेपालमै सातौं जिल्लाको रुपमा गुल्मीलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्ने गरिएको छ। जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरु पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।


खोप कार्यक्रमले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टंकार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक, जापानिज ईन्सेफलाइटिस नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाईटिस–बी नियन्त्रणका साथै खोपद्वारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालयका जनस्वाथ्य निरीक्षक बोम अर्यालले जानकारी दिए। जिल्लामा ३३२ खोप केन्द्र छन् भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन्।
पूर्ण खोप दिगोपन सुनिश्चितताका लागि विभिन्न रणनीतिक योजनाहरु निर्माण गरिएको छ। प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिनाभित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अद्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले बताए।
जिल्ला खोप समन्वय समितिले पूर्ण खोप दिगोपन सुनिश्चितता गर्ने १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखलाई सम्मानसमेत गरेको छ। रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले प्राप्त पूर्ण खोप दिगोपन सुनिश्चिततालाई जोगाइराख्न आफूहरु सधैँ क्रियाशिल हुने बताए। उनले सवै नागरिकलाई खोपको पहुँच अभिबृद्धि गर्दै विभिन्न स्वास्थ्यका योजनामार्फत् जिल्लाले अझै धेरै उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए।