ओलीसँग चुनाव लड्न कांग्रेसका तीन नेताको दाबी, लिङ्देनले हराएका थिए ओलीलाई

होमल्याण्ड खबर

२०७९ भाद्र १४ गते, मंगलवार १५:०७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेस तीन नेताले दाबी गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका तीन जनाले दाबी गरेका हुन् । ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र अधिकारी, नेविसंघका पूर्व उपाध्यक्ष मेदनी सिटौला र विश्वदीप लिङ्देनले दाबी गरेका हुन् ।

गत निर्वाचनमा अधिकारीले प्राध्यापन पेशा छाडेर चुनावमा होमिएका थिए । यस्तै, सिटौला नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष हुन् । झापामा डा. शेखर कोइराला पक्षको नेतृत्व सिटौलाले गर्दै आएका छन् । यसैगरी, लिङ्देन महाधिवशेन प्रतिनिधि भएका थिए । ०७४ को निर्वाचनमा उनी माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । ०६४ सालमा लिङ्देनले माओवादीबाट ओलीलाई यस क्षेत्रमा हराएका थिए ।

०७४ सालको निर्वाचनमा ओलीले देशभरको सर्वाधिक मतान्तरले कांग्रेस उम्मेदवारलाई हराएका थिए । उनले ५७ हजार १३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।