सिट बाँडफाँट गर्दा पकडको क्षेत्र नछोड्न देउवालाई दबाब

होमल्याण्ड खबर

२०७९ भाद्र १५ गते, बुधबार १६:३६ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिएका छन ।
कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गरेका हुन।

बैठकमा चुनावी तालमेलका आधारहरू के हुने, सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए । सो क्रममा नेताहरूले सिट बाँडफाँट गर्दा ०७४ को निर्वाचन र ०७९ को स्थानीय चुनावको परिणाम र पार्टीको संगठनलाई आधार बनाउनुपर्ने सुझाएका छन् ।

०७४ को हकमा भने समानुपातिक तर्फको परिणामलाई मात्रै आधार मान्न सकिने नेताहरूको भनाइ छ । छलफलका क्रममा मधेसको अफ्ठ्यारा विषयमा समेत कुराकानी भएको छ । नेताहरूले मधेस कांग्रेसको उर्वर भूमि रहेको भन्दै मधेसमा सिट बाँडफाँट गर्दा ध्यान पुर्‍याउनु पर्ने सुझाव दिएका छन् ।

गठबन्धनमा पाँच दलबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटमा कुरा मिलेको छैन ।