जुम्लामा लगानी सम्मेलनको तयारी

होमल्याण्ड खबर

२०७५ भाद्र २२ गते, शुक्रबार ११:३१ मा प्रकाशित

कर्णाली प्रदेशमै पहिलो पटक जुम्लामा हुन लागेको लगानी सम्मेलनको तयारी तिव्र पारिएको छ । लगानी सम्मेलनको मुख्य प्राथमिकता कृषि, पर्यटन तथा जडिबुटीमा छ । प्रदेश सरकारको प्रमुख प्राथमिकतामा कृषि, पर्यटन तथा जडिबुटी परेपछि त्यसलाई नै लगानी सम्मेलनको पनि प्राथमिकतामा राखिएको हो । यही भदौ २९ गते जुम्लामा पहिलो पटक लगानी सम्मेलन हुँदै छ ।

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले पत्रकार सम्मेलन गर्दै आर्थिक समृद्धि र प्राकृतिक स्रोत साधनको भरपुर सदुपयोग गर्न तीन वटा क्षेत्रमा लगानी गर्न अपिल गरिने बताइन् । उनले जुम्लाको समृद्धिको आधार नै कृषि र पर्यटन भएकाले यसमा लगानी बढाउन आवश्यक रहेको स्पष्ट पारिन । लगानीकर्तालाई सहज वातावरणमा लगानी गर्न बाटो खुला गर्ने उनको भनाइ छ ।

मेयर सेजुवालले सम्मेलनमा कृषि, पर्यटन र जडिबुटीको क्षेत्रमा विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम राखिएको बताइन् । “लगानी गर्ने आधारका बारेमा नगरपालिकाले स्पष्ट पार्ने छ, त्यसपछि लगानी गर्नेहरुका लागि वातावारण सहज हुने छ,” उनले भनिन, “सम्मेलनपछि ढुक्क भएर लगानीकर्ताले लगानी गर्न पाउने छन् ।”

लगानी सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, विभिन्न देशका राजदूत, उद्योगी, व्यवसायी सहभागी हुने छन् । जुम्लासहित समग्र कर्णाली प्रदेशको आर्थिक उन्नतिका लागि लगानी गर्ने उद्देश्यले चन्दननाथ नगरपालिकाले लगानी सम्मेलनको तयारी थालेको हो । “यो सम्मेलन मार्फत लगानीकर्ताको वेसलाइन सर्भे हुनुका साथै जुम्लामा रहेका प्रचुर पर्यटकीय सम्भावनाका स्थललाई विश्व सामु चिनाइने छ,” मेयर सेजुवालले भनिन् ।

नगरपालिकाले संघीय र प्रदेश सरकारले जुम्लालाई समान दृष्टिकोणले हेर्न सक्ने वातावरणको सिर्जना हुने अपेक्षासमेत राखेको छ । जुम्लामा सम्भावना बोकेका पर्यटकीय गन्तव्यस्थल र थरिथरीका जडिबुटीको प्रचार–प्रसारले स्थानीयको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ ।
कृषि विकास बैंकका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले लगानी सम्मेलनमार्फत् लगानीका क्षेत्र स्पष्ट हुनुपर्ने बताए । “लगानी सम्मेलन गर्दैमा विकास हुन्छ भन्न सकिँदैन्,” उनले भने, “जुम्लामा हुन लागेको लगानी सम्मेलन कर्णालीको विकासका लागि कोशेढुंगा सावित हुन सक्छ, तर लगानीका क्षेत्र स्पष्ट नभए वालुवामा पानी खन्याए जस्तै हुने छ ।”