गठबन्धन सिट बाँडफाँटको सहमति नजिक पुगेको छः माओवादी अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७९ भाद्र १७ गते, शुक्रबार १३:३३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीच सिट बाँडफाँट सहमतिको नजिक पुगेको बताएका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेशका नेता कार्यकतालाई प्रशिक्षण दिन सुर्खेत वीरेन्द्रनगर पुगेका दाहालले पत्रकारहरूसँगको भेटघाटमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटमा गठबन्धन दल सहमति नजिक पुगिएको बताउँदै गठबन्धन दलभित्र कुनै पनि असहमति नभएको दाबी गरे ।

अध्यक्ष प्रचण्डले यसपटकको चुनावमा नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना नरहेको प्रष्ट परेका छन् ।

पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले एकीकृत समाजवादीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको बताए । एकीकृत समाजवादीसँग एकताको प्रक्रिया अघि बढेको जानकारी समेत दिए ।

‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौँ’, उनले भने,‘घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भईराख्या छ । चुनाव चिह्न भने आ–आफ्नै हुनेछ।’ उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताए ।