भारतीय सेना प्रमुखले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउने

होमल्याण्ड खबर

२०७९ भाद्र २० गते, सोमबार १०:३४ मा प्रकाशित

पाँचदिने भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने भएका छन् ।

उनलाई आज अपराह्न ३ बजे शितल निवासमा आयोजना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । उनले आज सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ । भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि सोही अवसरमा घोषणा हुनेछ ।

तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् ।