३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा सहमति हुन बाँकी रहेको बताएका छन् ।
महामन्त्री थापाले नेताहरूले सार्वजनिक अभिव्यक्ति दिएजस्तो कांग्रेसले १०० सिटभन्दा तल झरेर सहमति हुने अवस्था नरहेको बताए ।


मंगलबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले ८० र माओवादी केन्द्रले ६० वरपर सिटमा सहमति हुने बताएका थिए ।
कांग्रेस महामन्त्री थापाले भने कांग्रेसलाई १०० सिटमा झर्नै समस्या भइरहेको र ८० सिटमा झरेर चुनावी तालमेल गर्ने अवस्था नरहेको बताए ।
‘गठबन्धनमा अहिले कुनै सहमति भइसकेको छैन । हामी छलफलमै छौँ, छलफल निरन्तर छ । तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेका छैनौँ,’ उनले भने, ‘कांग्रेसले कति सिट लिने भन्ने विषयमै हामी निष्कर्षमा पुगेका छैनौँ । अहिले करिब १२७ सिटमा कांग्रेसको दाबी छ, त्यो सिटलाई झारेर १०० सिटमा ल्याउनुपर्नेछ । त्यो नै भइसकेको छैन ।’
उनले कांग्रेसले १०० वटा कुन कुन सिट लिने भन्ने विषयमा समेत पार्टीभित्र छलफल भइरहेको बताए । ‘देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ८० सिटमा पहिलो छौँ, र ७० वटा सिटमा दोस्रो छौँ,’ महामन्त्री थापाले भने, ‘केही क्षेत्रमा मात्रै हामी तेस्रो छौँ । दोस्रो भएको ठाउँमा पनि स्वभाविकरुपमा साथीहरुको इच्छा छ, त्यसलाई पनि सम्बोधन गर्नुपर्ने अवस्था छ ।’
उनले गठबन्धन दलले कांग्रेसलाई धम्क्याएर सिट संख्या कम गर्न सकिन्छ भनेर बुझ्नु गलत हुने बताए । उनले कांग्रेसको कार्यकर्ता, संगठन र मतदाताको मनोविज्ञान कस्तो हो ? त्यो गठबन्धन दलले बुझ्नुपर्ने बताए ।