सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्छ : देउवा

होमल्याण्ड खबर

२०७९ भाद्र २३ गते, बिहीबार १३:५२ मा प्रकाशित

 प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबिच सिट बाँडफाँटको विषयमा चाँडै टुङ्गो लाग्ने बताएका छन् ।

उनले बिहीबार पनि छलफल जारी रहेको र बिहीबार साँझसम्म त्यसबारे टुङ्गो लाग्न सक्ने बताएका हुन् ।

बिहीबार बिहान वाग्मती प्रदेशका कांग्रेसका जिल्ला सभापतिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले गठबन्धनमा सिटको बाँडफाँट गर्दा सबै दललाई न्याय हुने कुरामा जोड दिने बताए ।

भेटमा प्रधानमन्त्री देउवाले बिहीबार साँझसम्म सिट बाँडफाँटको टुङ्गो लाग्न सक्ने बताएको दोलखाका जिल्ला सभापति बर्मा लामाले बताए ।

‘हामीले प्रदेश क्षेत्रका जिल्लाको विषयमा कुरा राख्यौँ । उहाँले सिट बाँडफाँट गर्दा ती विषयलाई सम्बोधन गर्ने प्रयास गर्छु भन्नुभएको छ,’लामाले भने, ‘सिट बाँडफाँट चाँडोभन्दा चाँडो टुङ्ग्याउने गरी छलफल भइरहेको उहाँको भनाइ छ ।’

सत्ता गठबन्धनका पाँच दल एक महिनादेखि सिट बाँडफाँटबारे छलफलमा छन् । तर त्यसबारे सहमति हुन सकेको छैन ।