९ मंसिर २०८१, आईतवार
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनले बंगलादेशविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन् । खेलको अघिल्लो दिन सञ्चारकर्मीसंग कप्तान महर्जनले साफ च्याम्पियनसिप अन्तर्गत समुह चरणको तेस्रो खेल खेलाडीकालागि मात्र नभएर सम्पुर्ण नेपालीकालागि महत्वपुर्ण रहेको बताए ।
‘बंगलादेशविरुद्धको खेल हाम्रालागि ‘गर वा मर’ जस्तै छ । हामीले कुनैपनि हालतमा खेल जित्नैपर्नेछ । भोलीको खेल जितेर सेमिफाईनल खेल्ने लक्ष्य छ ।’ उनले भने ।
साफ च्याम्पियनसिप अन्तर्गत नेपालले समुह चरणको तेस्रो खेलमा भोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । अघिल्लो चरण प्रवेश गर्न नेपाललाई जित्नैपर्ने दबाब छ ।
भुटानविरुद्धको खेलमा सर्वाधिक क्यापको कीर्तिमान बनाएका महर्जनले बंगलादेशविरुद्ध उत्रदै गर्दा नेपालको लक्ष्य जितनै हुने प्रष्ट पारे ।
उनले भने, ‘हाम्रो लक्ष्य जितनै हुनेछ । चाँडो जसले गोल गर्छ । उसैले सम्भावना बढी रहन्छ । तर खेल प्रतिस्पर्धात्मक हुनेछ ।’
नेपाली टिम उत्कृष्ट भएको दाबी गर्दै विराजले भने, ‘नेपाली टिम युवा छ । समर्पण भावले खेलेको छ । सामुहिक खेल प्रतिबद्धता छ । प्राविधिक रुपमा समेत क्रस, सुटिङ र वान टच राम्रो देखिएको छ ।’