गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र : देउवा

होमल्याण्ड खबर

२०७९ भाद्र २४ गते, शुक्रबार १५:०५ मा प्रकाशित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षडायन्त्र भएको बताएका छन् । चितवन पुगेर प्रधानमन्त्रीले अहिलेको सत्ता गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने बताएका हुन् । उनले पार्टीभित्र १४ औं महाधिवेशनमा प्रतिस्पर्धी बनेका डा शेखर कोइराला लगायतका कोइराला पक्षधर नेताहरुले गठबन्धनको विपक्षमा र गठबन्धन भत्काउने गरी दिईरहेको अभिब्यक्ति प्रति संकेत गदैं भने,–‘अहिले गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षडायन्त्र हो ।’

१०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

२०७४ सालमा कांग्रेस वामपन्थी शक्तिहरुको गठबन्धन बन्दा कसरी पछारिएको थियो भन्ने कुराको ख्याल गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले अहिले पनि कांग्रेसले गठबन्धन नगरेपनि कसै न कसैले गठबन्धन गर्ने र त्यस्तो अवस्थामा कांग्रेस कर्नरमा पर्न सक्ने बताए । उनले गठबन्धनबाट अहिले कांग्रेसले धेरै नै लाभ लिएको विषयमा पनि बुझनु पर्ने बताए ।

‘गठबन्धन गरेर कांग्रेस कमजोर बन्यो भन्ने होइन, झन् बलियो बनेको छ । के थियो हिजो कांग्रेससँग ? केन्द्रीय सरकार, प्रदेश सरकार सवैतिरबाट कांग्रेस बाहिरिएको होइन, प्रधानमन्त्रीले प्रश्न गदैं भने,–‘अहिले गठबन्धन गरेरै केन्द्रमा सरकार छ । प्रदेशमा मुख्यमन्त्रीहरु छन् , भोलि पनि हुन्छन्, यो ठिक होइन ?’

उनले अहिले गठबन्धनको विरोधमा पार्टीभित्र कोही पनि लाग्न नहुने र गठबन्धन बलियो बनाएर नै जानुपर्ने बताए ।

गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता–कार्यकर्ताहरू डरले थरर हुने गरेको पनि प्रधानमन्त्रीले स्मरण गराए ।

देउवाले भने, ‘सबैले ओली हटाउनुपर्छ भनेको हो नि । गठबन्धन गरेर नै हटाएर आज के भयो । पहिले केही थिएन । अहिले सरकार हाम्रो नेतृत्वमा छ । मुख्यमन्त्रीहरू पनि हाम्रा छन् । यहीँकै मान्छे मन्त्री बने । यो त भोलि पनि हुन्छ नि । त्यसैले पनि गठबन्धन बलियो बनाउनुपर्छ । गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षडायन्त्र हो ।’

उनले पार्टी नेता शेखर कोइराला लगायतको नेताहरुको नामै नलिएर गठबन्धनको विरोध नगर्न चेतावनी दिए । कोइरालाले गठबन्धन सकेसम्म गर्ने नहुने र गर्दा पनि कम्तीमा एक सय सिट कांग्रेसले नै राख्नुपर्ने बताउँदै आएका छन् । यही वेला प्रधानमन्त्री देउवाको त्यस्तो भनाई आएको हो ।