चिनियाँ पाहुनालाई उच्च सुरक्षा प्रबन्ध, यस्तो छ चार दिने भ्रमण तालिका

होमल्याण्ड खबर

२०७९ भाद्र २६ गते, आईतवार १०:२३ मा प्रकाशित

वेलायती महारानीको शोक मनाइरहेका बेला चिनिया पाहुना नेपाल आउन लागेका छन् । नेपालको चार दिने भ्रमणमा आगामी सोमबार दिउँसो काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रिय जन काँग्रेसका अध्यक्ष लि चान्सुको भ्रमण तयारी अन्तिम अवस्थामा पुगेको सुरक्षा स्रोतले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा आउन लागेका लिको भ्रमणवारे परराष्ट्र मन्त्रालय र संसद सचिवालयवीच समन्वय भइरहेको र र सुरक्षाकर्मीहरुले उचित सुरक्षा प्रवन्ध गरिरहेको चिनिया दूतावासलाई जानकारी गराइसकेका छन् ।

उच्च सुरक्षा स्रोतका अनुसार चिनियाँ टोली सोमबार दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्दैछ । नेपाली कम्युनिष्ट र सरकारले विशेष महत्व दिएको सो भ्रमण ताका सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचान हुने भएको छ । नेपाल प्रहरीका प्रवक्ता टेक प्रसाद राईले सुरक्षा प्रवन्ध चुस्त दुरुस्त रहेको बताएका छन् । ‘उच्चस्तरीय भ्रमण हुँदैछ नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको छ’, डिआइजी राईले भने ।

चार दिनमा अध्यक्ष लि दुई पटक संसद भवन नयाँ बानेश्वर जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । २७ गते काठमाडौं विमानस्थलमा अवतरण गरेपछि चिनियाँ उच्चस्तरीय पाहुना टोली सोझै सोल्टी होटल जानेछ । उक्त होटेलका सबै कोठा भोली विहानदेखि खाली गराइने छ । पाहुनाको सेवामा चिसो चिज केही पनि सर्भ नगर्न उनीहरूलाई कडा निर्दैशन दिइएको छ । सोल्टीमा केहीबेर आराम गरेपछि अध्यक्ष लि अपरान्ह पौने ५ बजे सभामुख सापकोटासँग शिष्टाचार भेटवार्ता गर्न संसद भवन नयाँ बानेश्वर पुग्नेछन् ।
त्यसैगरी संसद भवनभित्र आयोजना गरिएको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट कार्यक्रममा सहभागी हुन भोलिपल्ट मंगलबार बिहान ९ बजे नयाँ बानेश्वर जाने कार्यक्रम तय भएको छ । सोही दिन दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ उच्चस्तरीय टोलीले बालुवाटारमा भेट गर्नेछ ।

२९ गते बुधबार बिहान ९ बजे भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गर्ने तालिका तय गरिएको छ । दिउँसो साढे ३ः३० बजे शीतल निवासमा चिनियाँ सभामुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । नेपालको भ्रमण पूरा गरेर चिनियाँ पाहुना टोली बिहिवार बिहान ९ बजे स्वदेश फर्कने कार्यक्रम रहेको सुरक्षा स्रोतको दावी छ ।