हाइब्रिड घाँसमा किसान आकर्षित

होमल्याण्ड खबर

२०७५ भाद्र २६ गते, मंगलवार १०:४० मा प्रकाशित

पाँचथरका पशुपालक कृषक पछिल्लो समय हाइब्रिड घाँसको प्रयोगमा आकर्षित हुन थालेका छन् । कृषकहरू हाइब्रिड घाँसको प्रयोगमा आकर्षित भएसँगै घासरोपण कार्य तीब्र भइरहेको छ । साविक जिल्ला पशु सेवा कार्यालयको अगुवाइमा घाँसको बीउ वितरण गरिएपछि त्यसबाट हुने फाइदासँगै यहाँका कृषक घाँसको व्यावसायिक रोपणमा केन्द्रित भएका हुन् ।
फिदिम–२ की रमा पौडेलले अन्नबाली लगाएको खेतमा घाँस लगाउन थालेको बताइन् । यसअघि दुइटा गाई पाल्न दिनभर मेहनत गर्नुपर्ने भए पनि अहिले घाँसको खेती गर्न थालेपछि बिहानबेलुका घाँस काटे पुग्ने गरेको उनले जानकारी दिइन् ।
घाँस काट्ने समयमा अहिले अरूनै काम गर्न समय निस्कन थालेको छ । घाँसखेती गरेर गाईलाई दिन थालेपछि अहिले दूध उत्पादनमा समेत वृद्धि भएको उनले बताइन् । उन्नत जातको घाँसलाई मिलाएर खुवाए बस्तुसमेत मोटो हुने गरेकाले अरू किसानले पनि घाँसको खेती गरेको उनको भनाइ छ ।
यस्तै याङवर गाउँपालिकाका छविलाल पोख्रेल पनि हाइब्रिड जातको घाँस लगाएर त्यस क्षेत्रकै नमूना बनेका छन् । उनले यसअघि भोग्दै आएको घाँसको समस्या समाधान भएको बताए । दूध उत्पादनमा भएको वृद्धि घाँसका कारणले नै सम्भव भएएको हुनको भनाइ छ । यस क्षेत्रमा पोख्रेल जस्तै अरु दुई दर्जन स्थानीयले त्यस्तै प्रकारको घाँस रोपण गरेका छन् । घाँस नपाएर वस्तु बेच्नुपर्ने समस्या हालका लागि टरेको उनीहरूको भनाइ छ ।
उता गुम्बाडाँडाका सन्दीप राईले घाँसको पनि खेती हुन्छ भन्ने सुनेको लामो सयम भएको छैन । थाहा पाउने बित्तिकै किनेर रोपण गरेका उनले अरु २० जनाभन्दा बढीलाई त्यसको फाइदाका बारेमा जानकारी दिएर काम भइरहेको छ । त्यस क्षेत्रमा अहिले २५ जनाभन्दा बढीले घाँसको रोपण गरेर लाभ लिइरहेका छन् ।
दक्षिणी पाँचथरको चिलिन्दिनका लिलाबल्लव फुँयाल पनि व्यावसायिक कृषक हुन् । उनले पालेका गाईले राम्रो अम्दानी दिन नसकेर समस्या भइरहेका बेला घाँसको खेती सुरु भएपछि हाल समस्या समाधान भएको छ । उनले करिव ७५ रोपनी जमिनमा घाँस खेती गरेका छन् । त्यसबाट मनग्य आम्दानी समेत आइरहेको उनको भनाई छ । फुँयालले भने, “गाईको दूधसमेत वृद्धि भएको छ ।” पहिला दुई लिटर दूध दिने गाईले हाइब्रिड जातको घाँस खान थालेपछि पाँच लिटरसम्म दूध दिन थालेको उनले बताए ।
रविका सन्देश राईको अनुभव पनि त्यस्तै छ । २५ वटा गाई पालेका उनलाई घाँसको विकासले ठूलो राहत दिएको छ । दैनिक घाँस काट्नकै लागि कर्मचारी परिचालन गर्नुपर्ने भए पनि अहिले त्यो कार्यमा सुधार आएको छ । थोरै कर्मचारीले पनि धेरै काम गर्न सक्ने अवस्था रहेको उनले बताए ।
एक वर्षअघि जिल्ला पशु सेवा कार्यालय पाँचथरले विभिन्न क्लस्टर निर्माण गरेर जिल्लाका ५ वटा क्षेत्रका करिव १ सय २५ कृषकका लागि भन्दै नमुनाका रूपमा वितरण गरेको घाँसको बीउ अहिले जिल्लाभर फैलिएको छ ।
उत्तरी पाँचथरको थर्पुदेखि दक्षिणको रबिसम्मका कृषकले बर्खे, हिउँदे, र बहुबर्षे घाँस रोपण गरेर आम्दानी लिन थालेका छन् । कृषकले जौ घाँस, मकैसरी, सुडान, सियोफोलगायतका आधा दर्जन घाँसको बिउ लगाएका छन् ।
बहुबर्षे घाँसअन्तर्गत अहिले किम्बु, टाँकी, इपिलइपिल, स्टाइलोलगायतका घाँस अहिले रोपण कार्य जारी छ । यस्तो घाँस लगाउँदा पशुपालनका लागि ठूलो जमिनको आवश्यकता नपर्ने, कम मेहनतमा पनि धेरै पशुवस्तुलाई हेरचाह गर्न सकिने हुँदा कृषकहरू त्यसतर्फ केन्द्रित बन्दै गएको भेटेनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर अजयकुमार शाखले बताए ।