चिनीयाँ नेता ली चार दिने भ्रमण सकेर स्वदेश फर्किए

होमल्याण्ड खबर

२०७९ भाद्र ३० गते, बिहीबार १०:३२ मा प्रकाशित

 चार दिने भ्रमणमा नेपाल आएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन्।
उनलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट विदाई गरेका छन्।
नेपालमा रहँदा नेता लीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार उनले शिष्टाचार भेटवार्ता गरेका थिए।

बुधबार बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए।
प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारू गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसीहितका विविध विषयमा छलफल भएको थियो ।
सोही दिन नै ली र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको थियो। संघीय संसद् भवन नयाँ बानेश्वरमा सोही दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो

अध्यक्ष ली नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल विशेष विमानबाट सोमबार काठमाडौं आएको थियो।