०७४ मा पेस समानुपातिक बन्दसूची भोलिदेखि निष्क्रिय हुने

होमल्याण्ड खबर

२०७९ भाद्र ३१ गते, शुक्रबार १३:१६ मा प्रकाशित

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची असोज १ गते शनिबार रातिदेखि स्वतः निष्कृय हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विज्ञप्ति जारी गर्दै शनिबार राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ ।

“राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९-०५-२८ को पत्र तथा मिति २०७९-०५-२९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेस गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९-०६-०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ,” जारी विज्ञप्तिमा उल्लेख छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने आयोगले जनाएको छ ।