नेपाली टीभी च्यानलमा विश्वकपको ‘एक्सक्लुसिभ’ प्रसारण, ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने !

होमल्याण्ड खबर

२०७९ आश्विन २ गते, आईतवार १०:३३ मा प्रकाशित

मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु नेपालभित्र नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका छन् ।

अघिल्ला विश्वकपहरुमा झैं यसपटक नेपालमा बसेर विदेशी टेलिभिजन च्यानलमा विश्वकप हेर्न पाइने छैन । फिफाले नेपालका लागि यसपटक ‘एक्सक्लुसिभ’ प्रसारण अधिकार दिएका कारण विदेशी च्यानलबाट विश्वकप हेर्न नपाइने भएको हो । नेपालका लागि विश्वकपको प्रसारण अधिकार मिडिया हबले किनेको छ, जसले केही दिनमै प्रसारण हुने टेलिभिजन च्यानलको टुंगो लगाउने छ ।

मिडिया हबका अध्यक्ष सोम धितालले हिमालय टेलिभिजनमार्फत् विश्वकप देखाउने गरी समझदारी भइसकेको र केही दिनमै कानुनी प्रकृया टुंगाएर घोषणा गरिने जानकारी दिए ।