राष्ट्र बैंक र धितोपत्र बोर्डबीच सम्झौता

होमल्याण्ड खबर

२०७४ कार्तिक २४ गते, शुक्रबार ०६:२६ मा प्रकाशित

नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबीच सूचना आदानप्रदान तथा पारस्परिक सहयोगसम्बन्धी द्विपक्षीय समझदारी तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
धितोपत्र बजार नियामन निकायहरूको अन्तर्राष्ट्रिय संस्थाको सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम धितोपत्र बजारमा हुने कारोबार तथा अन्य गतिविधिसम्बन्धी कसुरको खोज÷अनुसन्धानका लागि बैंकिङ अभिलेखमा पहुँच हुनुपर्ने प्रावधानअनुसार वित्तीय प्रणालीका महत्वपूर्ण निकायका रूपमा रहेका बोर्ड र राष्ट्र बैंकबीच आपसी सहयोग तथा सूचना आदान–प्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।
अर्थ मन्त्रालयको रोहवरमा भएको सहयोग सम्झौताले धितोपत्र बजारलगायत सम्पूर्ण वित्तीय बजारमा हुनसक्ने दुर्घटना रोक्न तथा उत्पन्न हुनसक्ने जोखिमको समयमै सम्बोधन गरी मुलुकमा स्वच्छ तथा प्रतिस्पर्धी धितोपत्र बजार एवं वित्तीय गतिविधि मार्फत् वित्तीय स्थायित्व कायम गर्न सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ । यसबाट नेपाल धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रका अन्य धितोपत्र बजारका नियामन निकायसँग धितोपत्र बजारसँग सम्बन्धित कसुरको खोज÷अनुसन्धानमा आवश्यक सहयोग गर्न तथा सहयोग लिन सक्ने महत्वपूर्ण आधार तयार भएको बोर्डले जनाएको छ । यस्तै नेपालको धितोपत्रबजार सम्पत्ति शुद्धीकरण तथा आतंककारी कृयाकलापमा प्रयोग हुन सक्ने जोखिम न्यूनीकरण भई अन्तर्राष्ट्रियस्तरमा नेपालको धितोपत्रबजारको साख अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।