१२ मंसिर २०८१, बुधबार
कञ्चनपुरमा यतिबेला विशेष गरी ३ जनाको नाम धेरै चर्चामा छ । निलम्बित एसपी डिल्लीराज विष्ट अनि उनीसँगै जोडिने रोशनी र बबिता बम । कञ्चनपुर महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको देखिएपछि कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परेका छन् ।
स्थानीयले हत्यामा संलग्न रहेको आशंका गरेका रोशनी बम र उनकी दिदी बबितालाई हिरासतमा लिईएको भोलीपल्टै शनिबार एसपी विष्ट निलम्बनमा परेका हुन्। अनुसन्धानमा लापारबाही गरेको छनक पाईएपछि एसपी विष्टलाई निलम्बन गरिएको गृहमन्त्रालयले जनाएको छ । अब निर्मला हत्याकाण्डको छानबिन नसकिँदासम्म उनी प्रहरीको हैसियतमा कार्यालय ढिम्किन पाउने छैनन्। छानबिनका क्रममा लापर्वाही गरेर अपराधी जोगाउने र चोख्याउने खेल खेलेको भए के गर्ने ? यो प्रश्नको उत्तर प्रहरी संगठन र सरकारले दिएको छैन ।
यी तिनै एसपी हुन् जसले, निर्मलाको हत्याराका रुपमा कञ्चनपुरकै दिलिपसिंह विष्टलाई गत सोमबार प्रस्तुत गरेका थिए । जब दिलिपसिंह विष्ट, एसपी विष्टको ठोकुवामा हत्यारा करार गरिए, त्यसपछि रणभूमिमा परिणत भएको महेन्द्रनगर बजार अझै सामान्य बनेको छैन। प्रदर्शनका क्रममा एक जनाको शाहदत र करीब ३ दर्जन घाइते हुनेगरी भएको प्रहरी दमनको दोष यतिबेला यिनै एसपीबाट निलम्बित विष्टको थाप्लोमा परेको छ ।
दार्चुलामा जन्मिएका विष्ट ईन्टसपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । डिल्लीराजलाई जुवातास, जाँड रक्सीको लत छैन । तर, उनी निकट र उनी घुमेका ठाउँका स्थानीयले दिएको जानकारी अनुसार महिलाप्रतिको आशक्ति भने भनि साध्यै छैन । दार्चुलामा रहँदा पनि उनीमाथि यस्तै खालको हल्ला व्यापक थियो । डोटी सरुवा हुँदा पनि उनको गाइँगुईं खुब चल्थ्यो ।
यतिसम्म कि २०७४ चुनावमा लिइएको म्यादी प्रहरीको भर्नाका क्रममा उनले महिला उम्मेदवारलाई रातको समयमा डाकेर यस्ता खालका प्रश्न आउँछन् भनेर सिकाउने गर्थे । महिलाप्रतिकै आशक्तिका कारण अहिलेसम्म एसएसपी भइसक्नु पर्ने मान्छे एसपीभन्दा माथि जान नसकेको उनी निटकका प्रहरीहरुवीच टिका टिप्पणी हुने गर्छ। कार्यालयमा पनि महिला प्रहरीलाई निकट राख्ने हुँदा उनको पछाडी कुरा काट्नेहरुको जमात ठूलो हुनेगरेको श्रोत बताउँछ । तर आन्दोलन ह्याण्डल गर्ने क्षमता भने उनको राम्रो रहेको आलोचकहरु नै सुनाउँछन् ।
कञ्चनपुरमा पनि उनी नेतृत्वमा रहँदा गोली हान्न नदिएको र सकेसम्म कम बल प्रयोग गर्न भन्दै गोली हान्न नलगाएको बताइन्छ । गोली हान्नुभन्दा बरु कफ्र्यू लगाएर स्थिति नियन्त्रणमा लिन सकिने भन्दै उनले तत्कालिन सीडीओ कुमारबहादुर खड्कालाई अनुरोध पनि गरेका थिए। तर खड्काले मानेनन्। आखिर खड्का पनि कन्चनपुरबाट फुत्किन पर्यो, असक्षमको बिल्ला भिरेर ।
निर्मला हत्याकाण्डसँगै जोडिएका नाम हुन् रोशनी बम र उनकी दिदी बबिता । निर्मलाकी साथी रोशनी । उनैले डाकेर लगेकी थिइन् निर्मलालाई साउन १० गते । नियतबस वा अरु कुनै कारण ? त्यो एसपी विष्टको अनुसन्धानले देखाएन । विज्ञानको पुस्तिका लिन मात्रै भनियो । विशेष चर्चामा छन् उनकी दिदी बबिता । स्थानीयको भनाइमा बबिता बबाल डान्सर हुन् ।
डान्स बारमा समेत काम गर्छिन् । डान्सबारबाट राती घर फर्किंदा उनलाई सेक्यूरिटी दिने व्यवस्था पनि थियो। त्यसमा प्रहरी समेत पर्थे। घरमा प्रहरी हाकिमहरुको आउजाउ राम्रै हुने गथ्र्यो । महेन्द्रनगरको आर्मी ब्यारेक नजिक बम परिवारको २ तले घर छ । १० कोठाको घरमा दिदी बहिनी बस्छन् । एउटै कोठो पनि भाडामा लगाइएको छैन । त्यसैले उनीहरुले यही घरमा अलिक फरक खालको व्यवसाय गर्थे होला भन्ने अड्कल काट्छन् छिमेकीहरु । घटना हुनुअघि कसैले वास्ता पनि गरेन । निर्मला हत्या प्रकरणपछि मात्रै एकाएक चर्चामा आएका यी दिदीबहिनीको बारेमा प्रहरीले पनि मुख खोलेको छैन ।
एसपी विष्टको लतको विषयमा माथि नै भनियो । एसपी विष्टको सम्बन्ध रोशनी र बबितासँगै उनीहरुका बाबुआमासँग थियो भनिन्छ । बम परिवारको पनि पहाड घर दार्चुला । एसपी विष्ट पनि दार्चुलानै । वैतडीमा बिहे गरेका विष्ट हाल कन्चनपुर नै बस्छन्। बम परिवारको पनि कन्चनपुरमै घर । जानकारहरुका अनुसार एसपी विष्टको रोशनी, बबिताका बाबुआमासँग नजिकको सम्बन्ध छ ।
्परिवार मार्फत नै उनी रोशनी र बबितासँग नजिक भएका हुन् । यो घरमा उनको बाक्लै आउजाउ हुन्थ्यो भन्छन, छिमेकीहरु । पछिल्लो पटक एसपी विष्टकै छोरा र भीमदत्तका मेयर सुरेन्द्र विष्टका भतिजको समेत हिमचिम देखिएको खबर सार्वजनिक भएपछि, प्रहरीको अनुसन्धान फितलो हुनुको पछाडीको रहस्य खुल्ने छाँट देखिएको छ । तर, एसपी सा’बको हाइरार्की र अर्डर टार्न नसकेर टालटुले काम गर्दा डीएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्का पनि बलिको बोको बनेर मुख्यालय तानिएका छन् ।