३ चैत्र २०८२, मंगलवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धिहरू उल्टने खतरा रहेको बताएका छन्। आफ्नै निवास खुमलटारमा प्रेस सेन्टर ललितपुरसँग छलफलका क्रममा प्रचण्डले त्यस्तो बताएका हुन् । ‘हामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ। कमजोर भए सबै चिज उल्टने खतरा छ,’ प्रचण्डले भने ।
केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वलाई घेराबन्दी गरेर सवै उपलब्धी उल्टाउने खेलमा लागेकोले त्यसका विरुद्ध सचेत रहनुपर्ने उनको भनाई थियो । प्रचण्डले अव हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभएको पनि बताए।


अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ नै अव हुने चुनाव भएको प्रचण्डले बताए ।
‘हाम्रा लागि मंसिर ४ को निर्वाचन सामान्य चुनाव मात्र होइन। जीवन मरणको संघर्षका रूपमा चुनाव छ। उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्ने बीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ,’ प्रचण्डले भने,–‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने हुने दिन मंसिर ४ हो, चुनाव हो, यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन। आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ।’