३ चैत्र २०८२, मंगलवार
माओवादी र एकीकृत समाजवादीले चुनावी घोषणापत्रको काम सके पनि सार्वजनिक गर्न भने ढिलाइ गरेका छन् ।
सत्तारूढ गठबन्धनमा रहेका उनीहरूले संयुक्त अपिल गठबन्धनकै तर्फबाट जारी गरे पनि घोषणापत्र भने भिन्नाभिन्नै सार्वजनिक गर्ने तयारी गरेका छन् ।


दुवै दलले घोषणापत्रको काम सके पनि तिहारअघि या पछि कहिले सार्वजनिक गर्ने कार्यतालिका टुंग्याएका छैनन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको मस्यौदा समितिले तयार पारेको घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिएर प्रेसमा पठाउने तयारी भइरहेको माओवादीले जनाएको छ । उसले आर्थिक समृद्धिको विषयलाई घोषणापत्रमा प्राथमिकता दिएको छ । त्यस्तै, प्राप्त उपलब्धिको रक्षा, स्थिरतालगायत विषय पनि समेटिएको छ ।
श्रेष्ठको नेतृत्वमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्णा चौधरी, भीमा ढुंगाना र जगत सिंखडा रहेको घोषणापत्र निर्माण समिति माओवादीले गठन गरेको थियो । मस्यौदा समितिका सदस्य साहले पार्टीले तिहारअघि नै सार्वजनिक गर्ने गरी काम गरिरहेको बताए ।
सत्तारूढ गठबन्धनभित्रकै एकीकृत समाजवादीले घोषणापत्रलाई अन्तिम रूप दिएको छ ।
समाजवादीले शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्ने र आमजनतालाई निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नेसहितका विषय समेटेर घोषणापत्र तयार गरेको छ । प्राप्त उपलब्धिको रक्षा, निर्वाचन प्रणालीमा सुधारका साथै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन, जलस्रोतलागयत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
‘घोषणापत्र तयार भइसकेको छ । हामी प्रेसमा पठाउँदै छौँ । छपाइको काम सकिएपछि घोषणापत्र सार्वजनिक गर्छौँ,’ महासचिव डा. बेदुराम भुसालले भने, ‘कार्यतालिका तिहार अघि–पछि कहिले हुन्छ अहिल्यै भन्न सकिँदैन ।’ समाजवादीले घोषणापत्रको मस्यौदा तयार पार्न उपमहाचिवत्रय प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर र डा. विजय पौडेललाई जिम्मा दिएको थियो ।