विश्वकप क्रिकेटः बंगलादेशसँग जिम्बाब्वे पराजित

होमल्याण्ड खबर

२०७९ कार्तिक १३ गते, आईतवार १३:०२ मा प्रकाशित

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले जिम्बाब्वेलाई पराजित गरेको छ । आइतबार ९आज० भएको खेलमा बंगलादेशले जिम्बाब्वेलाई तीन रनले पराजित गरेको हो ।

१५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रन मात्रै बनाएपछि बंगलादेशले जित निकालेको हो । विश्वकपमा बंगलादेशको यो दोस्रो जित हो । यसअघि बंगलादेशले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ रनले पराजित गरेको थियो । तर, आफ्नो दोस्रो खेलमा भने दक्षिण अफ्रिकासँग १०४ रनले पराजित भएको थियो ।

जिम्बाब्वेका सेन विलियम्सले अर्धशतकसँगै ६४ रन बनाए । त्यस्तै, रियान बुर्लले अविजित २७ र रेगिस चकब्भाले १५ रन बनाए । बलिङतर्फ बंगलादेशका टस्किन अहमदले तीन, मोसादक हुसेन र मुस्ताफिजुर रहमानले समान २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५० रन बनाएको थियो । ओपनर नाज्मुल हुसेन सान्टोले ५५ बलमा सात चौका र एक छक्काको मद्दतमा ७१ रन बनाएपछि बंगलादेशले जिम्बाब्वेलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो ।

त्यस्तै, अफिफ हुसेनले २९, कप्तान शकिब अल हसनले २३ र लिटन दासले १४ रनको योगदान दिए । बलिङतर्फ रिचार्ड गराभा र ब्लेसिङ मुजराबानीले समान २–२ विकेट लिए ।

यो जितसँगै बंगलादेशले तीन खेलबाट चार अंक बनाएको छ । ग्रुप-२ु मा रहेको बंगलादेशले यो जितसँगै सेमिफाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ ।