३ चैत्र २०८२, मंगलवार
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचका लागि राजनीतिक दलले कात्तिक १७ देखि मंसिर १ गतेसम्म मात्र चुनावी आमसभा गर्न पाउने भएका छन् । निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्था अनुसार राजनीतिक दलले चुनावी आमसभा बुधबारदेखि निर्वाचन हुनु ३ दिनअघिसम्म गर्न पाउने निर्वाचन आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुरूप आयोगले चुनावी सभाको लागि समय तोकेको हो ।


आचारसंहिता बमोजिम नै निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने पनि आयोगले जनाएको छ । साथै, दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने, कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने विषयलाई स्मरण गराएको छ ।