डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट

होमल्याण्ड खबर

२०७९ कार्तिक १४ गते, सोमबार १६:३७ मा प्रकाशित

डा.तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार रहेकी डा। कार्की निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सोमबार सर्वोच्च पुगेकी हुन्। रिटको पेशी मंगलबारका लागि तोकिएको छ।

सार्वजनिक लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले शनिबार उनको उम्मेदवारी खारेज गरेको थियो।डा। कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो। उक्त उजूरीमाथि छानविन गर्दा कार्की उम्मेदवार बन्न अयोग्य देखिएको आयोगले निर्णय गरेको थियो।

कार्कीले नेपाल मेडिकल काउन्सिलको बैठक भत्ता बुझेको भन्दै आयोगले त्यसलाई ‘लाभको पद’ रूपमा व्याख्या गरेको हो। कार्कीले गत भदौ २८ गते नै आफूले मेडिकल काउन्सिलको सदस्य भएका कारण उम्मेदवारी दिन पाउने हो कि होइन भनेर आयोगलाई सोधे पनि आयोगले जवाफ दिएको थिएन।

सुरुमा जानकारी माग्दा जवाफ नदिने तर पछि त्यही आधारमा उम्मेदवारी नै रद्द गर्ने आयोगको उक्त निर्णय त्रुटिपूर्ण रहेको भन्दै आलोचनासमेत भइरहेको छ।