देश बनाउन एमालेलाई बहुमत दिनुपर्छ : केपी ओली

होमल्याण्ड खबर

२०७९ कार्तिक १५ गते, मंगलवार १६:४६ मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको दाबी गरेका छन् ।

चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको बताए ।

‘हामीसँग १२१ सिट उपलब्ध थियो, बहुमत थिएन, सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो,’ अध्यक्ष अ‍ोलीले भने, ‘सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो, फागुन ३ गतेसम्म सरकार बन्न दिइएन ।

‘निर्वाचन आयोगबाट परिणाम राष्ट्रपति कार्यालय पुग्न अढाई महिना लाग्यो, अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्‍याऔं, तर त्यो टिकाउ भएन, जनताका काम गर्न व्यवधान कसले गरेको छ रु सबैले थाहा पाएका छन्,’ ओलीले भने ।

ओलीले एमाले फोड्न मध्यरातिसम्म संसद् बैठक राखेर अध्यादेश जारी गरिएको आरोप लगाए । एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पुर्‍याएर नयाँ पार्टी गठन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

उनले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गरे । ‘एमालेसँग मात्र देश बनाउने भिजन छ, काम गर्ने क्षमता छ, एमालेको सुदृढ बहुमतविना देशको विकास हुँदैन, सुशासन र विकासको बाटोमा एमालेले लैजान्छ,’ उनले भने, ‘त्यसैले एमालेलाई बहुमत दिन आवश्यक छ । एमालेले जारी गरेको घोषणापत्र जनता अल्मल्याउन होइन, विकास गर्नका लागि हो । विकासका निम्ति प्रतिबद्ध छौँ ।’

अन्य दलका सरकारले देशको विकास नहुने उनले दाबी गरे । प्रशासनिक झन्झट र व्यवधान हटाउन पनि बहुमतको सरकार चाहिने ओलीले बताए ।