रवि लामिछानेलाई चुनाव जित्न कांग्रेसकै भर

होमल्याण्ड खबर

२०७९ कार्तिक १६ गते, बुधबार ११:१५ मा प्रकाशित

पूर्वपत्रकार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवनबाट उम्मेदवार बनेका छन्। काठमाडौं–२ वा ३ बाट उठ्ने चर्चा चले पनि अन्तिम समयमा लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। काठमाडौंमा उठ्ने तयारी गरेका लामिछाने एक्कासी चितवनबाट किन उम्मेदवार बने भन्ने प्रश्नको जवाफ मतदाताले अझै पाएका छैनन्। राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहने चितवन चर्चामा छ। यो निर्वाचनमा पनि चितवनमा अर्थशास्त्रीदेखी पूर्वपत्रकारसम्म उम्मेदवार बनेका छन्।

उम्मेदवारी दिनुअघि उनले मतदाताको ‘सेन्टिमेन्ट’ बुझ्ने र सर्वेक्षण गर्ने लगायत काम गरेका थिए। लामिछानेले उठ्ने तयारी गरेपछि माओवादी अध्याक्ष पुष्पकमल दाहाल चितवन–३ छाडेर गोरखा गएको चर्चा छ। तर लामिछाने चिवतन–३ पनि छोडेर २ बाट उम्मेदवार बने।

नेपाली कांग्रेसको असन्तुष्ट समूहसँग औपचारिक सहमति भएपछि उनले यो क्षेत्रबाट उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला संयोजक धर्वेन्द्र सापकोटा बताउँछन्। उनको नेकपा एमाले, विद्रोही कांग्रेससँग मिलेर प्रचण्डलाई हराउने योजना बनेको थियो।

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार नउठाउने, २ नम्बरमा कांग्रेसको असन्तुष्ट समूहले नउठाउने र दुवै क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको उनले बताए। ३ मा कांग्रेसका असन्तुष्ट जगन्नाथ पौडेललाई सघाउने र पौडेल धारका कांग्रेस कार्यकर्ताले २ मा रवि लामिछानेलाई सघाउने उनको दाबी छ। पौडेल गत स्थानीय तहको चुनावमा पनि प्रचण्डपुत्री रेनु दाहालविरुद्व महानगर प्रमुखको उम्मेदवार बनेका थिए।

पार्टीको ह्वीप उल्लंघन गरेर उम्मेदवारी दिएपछि पौडेललाई कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा नै कारबाही गरिसकेको छ। तर,अझै पौडेल कांग्रेसको असन्तुष्ट पक्षहरुको नेतृत्व गरिरहेको छन्।

वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत हिसाब गर्दा गठबन्धनमा रहेका सबै दलकाले पाएभन्दा एमालेका वडाध्यक्षहरूले पाएको भोट एक सय ४९ ले बढी छ। कांग्रेसको असन्तुष्ट पक्षको मतबाट चुनाव जित्ने दाउ गरेका लामिछानेले एमालेको मत पनि तान्नुपर्ने देखिन्छ। कांग्रेसको असन्तुष्ट पक्षसँगै एमालेको मत पनि ल्याउन सके लामिछानेले जित हात पार्न सक्छन्।