मुक्तिनाथमा राष्ट्रपतिबाट भगवान विष्णु प्रस्तर मूर्तिको शिलान्यास

होमल्याण्ड खबर

२०७९ कार्तिक १८ गते, शुक्रबार ११:४४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान विष्णु प्रस्तर मूर्तिको शिलान्यास गरेकी छन् । शुक्रबार भण्डारीले शिलान्यास गरेको मन्दिर गैरआवासी नेपाली संघका पूर्वअध्यक्ष शेष घले र पूर्वउपाध्यक्ष सोनाम लामाको संयुक्त लगानीमा बन्न लागेको हो ।

गुरुयोजनानुरुप भगवान विष्णुको ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । यो मूर्ति स्थापनाका लागि संघका पूर्वअध्यक्ष घलेले ५० लाख रुपैयाँ सहायता गरेका हुन । ३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिब नौ करोड रुपैयाँ लाग्‍ने आँकलन रहेको छ । विष्णुको मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण गरी रहेको आयोजकले जनाएको छ ।

साथै , राष्ट्रपति भण्डारीले भगवान गौतम बुद्धको ३५ फिट अग्लो मुर्ति पनि अनावरण गरेकी छिन्। बुद्धको मुर्ति पाटन औद्योगिक क्षेत्रमा तयार गरेर मुक्तिनाथमा लगेर स्थापना गरिएको संघका उपाध्यक्ष लामाले बताए । बुद्धको मुर्ति करिब ६ करोड रुपैयाँ लगानीमा बनेको छ । मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवामा यी संरचनाहरु बनाइएको छ । समुद्र सतहबाट करिव तीन हजार सात सय सय १० मिटर उचाईमा रहेका बुद्ध मूर्ती र रिसोर्टबाट तीन सय ६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ ।