ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न कम्तिमा पाँच वर्ष गठबन्धन कायम रहन्छः पुन

होमल्याण्ड खबर

२०७९ कार्तिक २० गते, आईतवार १३:०० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सत्ता गठबन्धन कम्तीमा पनि ५ वर्षसम्म कायम रहने बताएका छन्। लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए।

०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमण्ड र अहंकारका कारण ५ वर्ष खेर गएको उनको भनाइ थियो। उनले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको र पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद् विघटन गरेको टिप्पणी गरे।

‘पाँच वर्ष एक ढंगले खेर गयो। हामीले समयको सदुपयोग गर्न सकेनौँ। अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ। अघि हिँड्नेले घमण्ड गर्दा अरुले दुःख पाए। सरकार भनेको देशको अभिभावक हो। प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो। उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो। म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो,’ पुनले भने।

पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि आरोप लगाए। राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप उनले लगाए।

उनले भने, ‘गुप्तचर, राजश्व अनुसन्धान विभागसहितका निकाय केन्द्रित गरेर निरंकुश शासकले जस्तै शासन गर्नुभयो। मन्त्रीहरुलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने। सचिवहरुमार्फत् काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरुलाई मातहतका सरकारजस्तो बनाउने। स्थनीय सरकारहरुको कुनै भाउ नहुने अवस्था उहाँले नै ल्याउनुभयो।’

निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गरे। जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उनको भनाइ छ।

ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो। पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद् विघटन गरेको पुनको भनाइ छ।