१० मंसिर २०८१, सोमबार
गण्डकी प्रदेश सरकारले करका दर घटाउने आफ्नो निर्णय फिर्ता लिएको छ। निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेपछि सरकार पछि हटेको हो।
गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो। गत बुधबार पनि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेपछि प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गरेको हो।मन्त्रिपरिषद्ले आचारसंहिता लागू हुनुपूर्व नै करको दर घटाएको भए पनि राजपत्रमा भने आचारसंहिता लागू भएपछि प्रकाशन गरेको थियो।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड खमा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने भन्ने उल्लेख छ।