मोरङ ३ ‘क’बाट कांग्रेसका उम्मेदवार मानबहादुर

होमल्याण्ड खबर

२०७९ कार्तिक २४ गते, बिहीबार ११:५५ मा प्रकाशित

नेपाली कांग्रेसका महासमिति सदस्य मानबहादुर लिम्बूलाई पार्टीले मोरङको क्षेत्र नम्बर ३ को ‘क’बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

यो क्षेत्रबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि उनका ठाउँमा कांग्रेसले लिम्बूलाई टिकट दिएको हो । कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले पार्टी केन्द्रले नै प्रदेशसभा सदस्यको उम्मेदवार बन्न लिम्बूलाई टिकट दिएको बताए । बिहीबार दिउँसो १ बजे मनोनयन दर्ताको तयारी गरिएको घिमिरेले बताए ।

लिम्बू नेपाल विद्यार्थी संघ मोरङका पूर्वसभापति समेत हुन् । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायत प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरको नोबेल अस्पतालमा निधन भएको थियो । त्यसपछि निर्वाचन आयोगले नयाँ कार्यक्रम सार्वजनिक गरेर निर्वाचनको प्रक्रिया अघि बढाएको थियो । उक्त क्षेत्रमा मंसिर ४ गते नै मतदान हुनेछ ।