नेपालमा अझै कूरीतिविरुद्धको लडाइँ जित्‍न बाँकी नै छः राष्ट्रपति भण्डारी

होमल्याण्ड खबर

२०७९ कार्तिक २४ गते, बिहीबार १४:२५ मा प्रकाशित

नेपाललाई समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्। उनले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरुमा लगानी गरिरहेको पनि बताइन्।

आइसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रममा बोल्दै उनले नेपालले संघीय र प्रादेशिक विधायिकाहरुमा एकतिहाई महिलाहरुको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराइन्।

राष्ट्रपति भण्डारीले नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको बताइन्।

सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कूरीतिहरु विरुद्धको लडाइँ जित्न बाँकी नै रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरिन्।

​समानता र न्यायपूर्ण समाजको निर्माणका लागि हामीले शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक, राजनीतिक प्रबन्धहरुमा लगानी गरेका छौं। हामीसँग संघीय तथा प्रादेशिक विधायिकाहरुमा महिलाहरुको प्रतिनिधित्व एक तिहाई सुनिश्चित गरिएको छ। साथै यसको लागि सुदृढ संवैधानिक आधारशीला समेत रहेको छ।

हालसालै सम्पन्न स्थानीय सरकारको निर्वाचनमा ४१ प्रतिशत राजनीतिक पदहरुमा महिलाहरु निर्वाचित हुनुु भएको छ। निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भईरहेको छ। तथापि राष्ट्रिय जीवनमा सम्पूर्ण लैगिक समानताको लक्ष्य हासिल गर्ने हाम्रो लामो यात्रा अझै जारी छ। सबै प्रकारका लैगिक हिंसा, पूर्वाग्रह, तथा कूरीतिहरु विरुद्धको लडाई जित्न बाँकिनै रहेको छ। यस अभियानमा हाम्रो प्रतिवद्धता अटल र प्रयास इमान्दार रहेको छ।

आज म यस फोरमलाई सम्बोधन गरिरहँदा गरिवी, अल्पविकास तथा बञ्चितीकरणका लागि कष्ट झेलिरहेका महिलाहरुलाई सम्झिरहेको छुु। आफ्नो र आफ्नो सन्ततिको जीवन सुधार गर्न कैयन विध्नबाधा तथा अड्चनसँग झुधिरहेका महिलाहरुलाई सम्झिरहेको छु। आज यहाँ विभिन्न पुस्ताका नेपाली वीरंगानाहरुको प्रतिनिधित्व गर्न पाउँदा मैले गौंरवान्वित महशुस गरेको छु। महिला र पुरुषबीचको समान हैसियत हुने समावेशी समाज निर्माण गरी विश्वका चुनौतिहरु सामना गर्ने यस सामूहिक अभियानमा सम्मिलित हुन पाउँदा सम्मानित महसुस गरेकी छु।’

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको कारण लाखौं मानिसहरुको जीवन जोखिममा परेकाले त्यसको प्रभाव न्यूनिकरणमा सबैले पहल गर्नुपर्ने आवश्यक्ता रहेको बताइन्।