बागमती करिडोरका टहरा भत्काउन १० दिने अल्टिमेटम

होमल्याण्ड खबर

२०७९ कार्तिक २७ गते, आईतवार १०:३२ मा प्रकाशित

 सुकुमबासीका नाममा बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाइएका घरटहरा भत्काउन १० दिने अल्टिमेटम दिइएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै १० दिनभित्र टहरा भत्काउन र त्यसभित्रका सामान हटाउन निर्देशन दिएको हो ।

तोकिएको समयमा घरटहरा नभत्काए बल प्रयोग गरेरै भत्काउने समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाको चेतावनी छ । ‘बागमती करिडोरमा बसेकाहरू सुकुमबासी हुन् वा होइनन् पहिचान हुनुपर्छ । सुकुमबासी हुन् भने व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय भूमि आयोगको हो,’ उनले भने, ‘हामी बागमती नदीबाट उनीहरूलाई हटाउने तयारीमा छौँ । हाम्रो काम बागमती नदीलाई खाली गर्ने, खोलाको क्षेत्र बाँध्ने, करिडोर निर्माण गर्ने र हरियाली पार्क बनाउने हो ।’

अध्यक्ष तिमल्सिनाले खोला क्षेत्रमा नयाँ घरटहरासमेत थपिएकाले थप कडाइ गर्न लागिएको जानकारी दिए । उनले बागमतीको धेरैजसो क्षेत्रफलमा काम भइसके पनि घरटहरा भएको क्षेत्रमा भने व्यवस्थापनको काम अघि नबढेको बताए ।

खासगरी तिनकुनेदेखि सिनामंगल क्षेत्रमा खोला निकै खुम्चिएको छ । त्यहाँ धेरै टहरा बनेका छन् । बागमती नदीकै शंखमूल र थापाथली खण्डमा पनि अवैध रूपमा घरटहरा निर्माण गरिएको छ । वर्षौँदेखि नदीको क्षेत्रमा अनधिकृत बस्ती बसेकाले त्यसलाई हटाउन लागिएको हो ।

विगतमा पनि बागमती नदी करिडोरका अवैध घरटहरा भत्काउन समितिले पटक–पटक निर्देशन दिँदै आएको थियो । तर, निर्देशन कार्यान्वयन भएनन् । यसपटक भने कडाइ गरिने समितिले जनाएको छ । समितिका अनुसार पहिलो चरणमा १० दिनको समय दिइएको छ । यो समय सकिँदासम्म घर–टहरा हटाइएन वा त्यहाँ बसेकाले घरटहरा छाडेनन् भने सहरी विकास मन्त्रालय, उपत्यका विकास प्राधिकरण, महानगरपालिकालगायत प्रतिनिधिको संयुक्त बैठक राखिनेछ । बैठकको निर्णयअनुसार भत्काइने समितिले जनाएको छ । अल्टिमेटम पनि समितिले सम्बन्धित निकायहरूसँग छलफल गरेरै दिएको हो ।

अवैध टहरा भत्काउने जिम्मा काठमाडौं महानगरको नगर प्रहरीलाई दिइने समितिले जनाएको छ । ‘सुरुमा उनीहरूलाई समय दिएका छौँ, त्यसपछि हाम्रो बोर्ड बैठक बस्छ,’ अध्यक्ष तिमल्सिनाले भने, ‘यसपटक काठमाडौं महानगरले सहयोग गर्यो भने हामीले अवैध घरटहरा हटाउन सक्छौँ ।’ उनले अवैध बस्तीका कारण बागमती आयोजनाको कामसमेत ठप्प भएको बताए ।

राष्ट्रिय भूमि आयोगका अनुसार बागमती करिडोरअन्तर्गत सिनामंगल–तिनकुने क्षेत्रमा भएका पाँच सय घरटहरामध्ये करिब तीन सय घर पक्की छन् । तीमध्ये केही तीन तलेसम्मका छन् भने अधिकांश दुईतले पक्की घर बनेका छन् । यो क्षेत्रलाई खाली गरेर खोला व्यवस्थित गरिने आयोगका प्रवक्ता नहेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार आयोगले कुन–कुन घरका कस्ता–कस्ता परिवार बसिरहेका छन् भन्नेबारे छानबिन अघि बढाएको छ । भूमि दिन मिल्ने र दिनुपर्ने अवस्थाका बारे पनि अनुगमन भइरहेको खड्काको भनाइ छ । ‘बागमती करिडोरमा सुकुमबासी बस्ती राख्ने नै होइन । यो क्षेत्रका मानिसलाई कतै सार्ने गरी छलफल भइरहेको छ,’ उनले भने, ‘त्यसो त त्यहाँका सबै सुकुमबासी पनि होइनन्, यसबारे अनुगमन र छानबिन हुँदै छ ।’ उनका अनुसार सिनामंगलदेखि थापाथलीसम्म झन्डै दुई सय रोपनी जग्गामा अवैध घरटहरा छन् । आयोगका अनुसार देशभर सुकुमबासी संख्या १६ लाख छ । त्यमध्ये चार लाख सुकुमबासी काठमाडौंका विभिन्न नदी किनार र खुला ठाउँमा छन् ।