गोरखा २ मा हुन सकेन मत गणना, पुनः मतदान गर्न एमालेको माग

होमल्याण्ड खबर

२०७९ मंसिर ५ गते, सोमबार १५:५८ मा प्रकाशित

गोरखा–२ मा निर्वाचन धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् ।

सोमबार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।

सत्ता र शक्तिको आडमा मृतक, वेपत्ता र विदेशमा रहेकाहरुको नामबाट पनि मतदान भएको एमालेको आरोप छ ।

अन्य उम्मेदवारका फर्जी प्रतिनिधि खडा गरेको, आफ्ना प्रतिनिधिमाथि हातपात गरेको आरोप समेत उनीहरुले लगाएका छन् । निर्वाचन आचारसंहिता विपरीत बुथ कब्जा गर्दा समेत प्रहरी र प्रशासन मौन बसेको उनीहरुले आक्रोश समेत व्यक्त गरे ।

पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएपछि गोरखामा अझै मतगणना सुरु हुन सकेको छैन । गोरखा क्षेत्र नम्बर २ को मतगणनाका लागि सोमबार बिहान दश बजे सर्वदलिय बैठक बसेको थियो । तर मतगणना भने सुरु हुन सकेन ।

मतगणना स्थलको थप व्यवस्थापन गर्नुपर्ने भएकाले सुरु हुन नसकेको निर्वाचन क्षेत्र नम्वर २ का अधिकृत नारदप्रसाद भट्टराईले बताए । ‘निर्वाचन आयोगले एकैपटक चार ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थलको व्यवस्थापन गर्नु भनेपछि अहिले हामी स्थलको थप व्यवस्थापनमा जुटेका छौ,’ उनले भने, ‘त्यो सके लगतै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्छौं ।’

गोरखा निर्वाचन क्षेत्र नम्वर २ को मतपेटिका हिजै संकलन भइसकेको छ भने १ अन्तर्गत उत्तरी गोरखाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी भइरहेको छ ।