चेतनको हत्याका दोषीलाई कारबाहीको माग गर्दै आज पनि बाजुरामा प्रदर्शन

होमल्याण्ड खबर

२०७९ मंसिर ७ गते, बुधबार १३:४८ मा प्रकाशित

चेतन अयडीको हत्याका दोषीलाई कारबाहीको माग गर्दै आज बुधबार पनि बाजुरामा प्रदर्शन भएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा मंसिर ४ गते राति घरमा सुतिरहेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतनलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेका थिए ।

सोही विषयलाई लिएर बाजुरामा अनेरास्ववियुले ३ दिनदेखि प्रर्दशन गर्दै आएको हो । चेतनको हत्याको विषयलाई लिएर ३ दिनदेखि सदरमुकाम मार्तडी बजार र कोल्टी बजार तनावग्रस्त बनेको छ । चेतनको हत्यामा संलग्न रहेका कांग्रेसका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरेर कारबाही नगरेसम्म अनेरास्ववियुले बाजुराका विभिन्न ठाउँमा बजार बन्द र सडकमा टायर बालेर आन्दोलन गरिरहेको छ ।

चेतनको विभत्स हत्या भएको ४ दिन वित्न लाग्दा समेत सम्बन्धित निकायले दोषीहरुलाई पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियुले आज बुधबार पनि सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालय, शैक्षिक स‌स्था र बजारहरु अनिश्चित कालका लागि बजार बन्द गरेको छ । त्यस्तै नेता चेतनका हत्याराहरुको पक्राउमा प्रशासनको नियोजित ढिला सुस्ती विरुद्ध अनेरास्ववियु बाजुराले कोल्टीमा समेत प्रदर्शन गरेको छ ।

चेतन हत्याका आरोपितहरुलाई कानूनी दायरामा नल्याएसम्म अनेरास्ववियुले बाजुरामा निरन्तर आन्दोलन गरिरहने विद्यार्थी नेता लक्ष्मण रोकायाले बताए ।

नेकपा एमाले बाजुराले पनि मंगलबार पत्रकार सम्मेलन गरेर चेतनको हत्याका दोषीलाइ कारबाही नगरेसम्म निर्वाचनका कुनै पनि गतिविधि अगाडि बढ्न नदिने जनाएको छ ।