ट्विटरका निलम्बित खाता पुनः सञ्चालन गर्नेबारे एलन मस्कले दिए अर्को जानकारी

होमल्याण्ड खबर

२०७९ मंसिर ९ गते, शुक्रबार ११:१४ मा प्रकाशित

बिहीबार एक सर्वेक्षण सञ्चालन गरेका ट्विटरका नयाँ मालिक एलोन मस्कले निलम्बित खाता कहिले पुनः सञ्चालन हुन्छ भन्नेबारे संकेत गरेका छन् ।​

एलन मस्कले ट्वीट गरे, ‘कानुन नतोडेका वा गम्भीर स्प्याममा संलग्न नभएका निलम्बित खातालाई सामान्य माफीको प्रस्ताव गर्नु पर्छ कि पर्दैन?’ यसमा ७२ प्रतिशतले माफी दिनुपर्ने र २७ प्रतिशतले दिनुपर्दैन भन्ने जवाफ दिए । अब एलन मस्कले माफी अर्को हप्तादेखि सुरु हुने बताएका छन् ।

उनले ट्विट गरेका छन्, ‘मानिसहरुले आफ्नो धारणा व्यक्त गरे । माफी अर्को हप्तादेखि सुरु हुनेछ ।’ केही समयअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्टबाट प्रतिबन्ध फुकुवा गर्नुअघि पनि एलन मस्कले पोल गरेका थिए ।

एलन मस्कको नयाँ ट्वीट पछि धेरै निलम्बित खाताहरू पुनः सुरु हुने सम्भावना छ । पोलपछि ट्रम्पको ट्विटर एकाउन्ट पुनः सुरु गरिएको थियो । अमेरिकाको क्यापिटल हिल हिंसापछि डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट निलम्बन गरिएको थियो ।