होमल्याण्ड खबर
२०७९ मंसिर ११ गते, आईतवार १३:४६ मा प्रकाशित
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको प्रथक त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि आइतबार ५ बजे केन्द्रिय बैंकको सञ्चालक समितिको बैठक बस्दैछ । राष्ट्र बैंक स्रोतले भन्यो, ‘मौद्रिक नीति समीक्षाको सबै तयारी सकेर त्यसलाई पास गर्न आज साँझ बोर्ड बैठक बस्दैछ । सम्भवतः साँझ नै मौद्रिक समीक्षा सार्वजनिक हुनेछ ।’
समीक्षामार्फत केन्द्रीय बैंकलाई निजी क्षेत्रको माग र वित्तीय स्थायित्वबीच सन्तुलन कायम राख्न प्रमुख चुनौती रहेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकलाई आयात एलसी खोल्दा नगद मार्जिन राख्ने र सरकारले प्रतिबन्ध लगाएको आयात खोन्न लगाउनुपर्ने दबाब छ । आयात प्रतिबन्धले सुस्त बनाएको आर्थिक गतिविधि विस्तारका लागि पनि प्रतिबन्ध हटाउन आवश्यक रहेको अर्थविद्ले बताउन थालेका छन् ।
तर, आयात प्रतिबन्ध भन्दा पनि अहिलेको प्रमुख समस्या ब्याजदर भएको भन्दै निजी क्षेत्रले ब्याजदर घटाउन चर्को दवाब बढाएका छन् । राष्ट्र बैंक भने अब थप ब्याजदर बढाउने पक्षमा नभए पनि घटाउन भने चुनौतिपूर्ण हुने बताउँदै आएको छ । यही परिपक्ष्यमा केन्द्रीय बैंकले केही मध्यमार्गी बाटो अवलम्बन गर्दै मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।