उदयपुर १ मा मत गणना गर्न आयोगको निर्देशन

होमल्याण्ड खबर

२०७९ मंसिर १२ गते, सोमबार १५:०६ मा प्रकाशित

दुई दिनदेखि रोकिएको उदयपुर १ को मत गणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले अहिले पठाएको पत्रमा मत गणनापूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

आयोगको पत्रपछि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अघिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । आइतबार मत गणनाका क्रममा पछिल्लोपटक खोलिएको १० वटा मत पेटिकामा उदयपुर १ (२) प्रदेशसभाको १०० मत पत्र भेटिएकाले गणना रोकिएको थियो ।

७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले एक हजार ८२५ मतले अग्रता बनाएका छन् ।

खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मञ्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेकी छन् ।