फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

होमल्याण्ड खबर

२०७९ मंसिर २२ गते, बिहीबार १५:२३ मा प्रकाशित

गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन ।

राष्ट्रिय खेलकुद परिषदमार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम रु दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौँका इञ्जिनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए ।

बुल्मचौरलाई एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइले रङ्गशालाको रूप दिएको छ । दोस्रो चरणमा रु एक करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रङ्गशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जिनियर शाहीले बताए ।

पहिलो चरणमा गरिएका काम भत्कँदै जाने र दोस्रो चरणको काम समयमै सुरु नहुने कारणले गर्दा रङ्गशाला निर्माण हुने स्थानका स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । रङ्गशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।