ठूलो परिमाणको गाँजासहित पाँच जना पक्राउ

होमल्याण्ड खबर

२०७९ मंसिर २३ गते, शुक्रबार १५:४३ मा प्रकाशित

मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध लागू औषध गाँजाको धुलो ३८ केजीसहित सोही गाउँपालिका ७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अपरिचित मानिसले बोरामा शंकास्पद सामान बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यस्तै, सर्लाहीको कबिलासी नगरपालिका १० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसमेत तीन जनालाई अवैध लागू औषध गाँजा तीन सय ग्राम र नगद एक हजार ५८० रूपैयाँसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रायले आफ्नै भैँसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगदसहित फेला पारी पक्राउ गरेको हो ।