देउवाले रवि लामिछानेलाई सोधे- सरकारमा जाने की नजाने ?

होमल्याण्ड खबर

२०७९ पुष ५ गते, मंगलवार १०:४९ मा प्रकाशित

संसदमा चौथो शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाका वीचमा भेटवार्ता भएको छ ।

लामिछानेको पार्टीको सोमबार बुढानिकलकन्ठस्थित एक होटलमा बसेको संसदीय दलको गोप्य बैठकबाट लामिछाने दल नेता चयन भएपछि उनी प्रधानमन्त्री शेरवहादुर देउवासँगको भेटका लागि प्रधानमनत्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री भेटन जाँदा लामिछानेले पार्टीका केही अन्य नेतालाई पनि साथमा नै लिएर गएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताको विषयमा निर्णय गर्ने जिम्मा सभापति लामिछानेलाई नै दिएको छ । सरकारमा रहने या नरहने भन्ने अधिकार अव लामिछाने एक्लैले निर्णय लिन सक्ने जिम्मा उनलाई उनको पार्टीले दिएको छ ।

दल नेता चुनिएपछि प्रधानमन्त्री भेटन पुगेका लामिछानेलाई प्रधानमन्त्रीले सरकारका विषयमा पार्टी धारणा के हो भनी जिज्ञासा राखेका थिए ।

राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गरेपछि प्रधानमन्त्री देउवा र रास्वपाका नेताबीच बालुवाटारमा भेटवार्ता भएको मौका छोपेर लामिछानेलाई देउवाले सरकारको बारेमा धारणा सोधेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बताए ।

‘प्रधानमन्त्रीसँग हाम्रो पार्टी सभापति सहितका केही नेताहरुको सोमबार भेटवार्ता भयो । भेटमा सरकार गठनका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले हाम्रो पार्टीको सरकारका विषयमा धारणा के छ भनेर सोध्नुभयो । हामीले हाम्रो एजेन्डामा प्रतिबद्ध भए सरकारका बारेमा सकारात्मक हुनसक्ने जवाफ दिएका थियौं । हाम्रो मुख्य कुरा एजेण्डामा छ,’ प्रवक्ता ढकालले भने ।

यसअघि सरकार गठनबारे रास्वपाका सभापति लामिछानेले एमाले अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेका थिए । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिट छ ।