देउवालाई विश्वप्रकाशको सुझाव : अझै समय छ, दल नेताको उम्मेदवार होइन, प्रस्तावक बस्नुस्

होमल्याण्ड खबर

२०७९ पुष ५ गते, मंगलवार १३:११ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रुपमा आफूले हेर्न चाहेको बताएका छन् । कठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गदै महामन्त्री शर्माले त्यस्तो बताएका हुन् । उनी पार्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दल नेता बनाउन चाहान्छन् ।

देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहँदा राम्रा कामहरुको चर्चा हुन नसकेको महामन्त्री शर्माको भनाई थियो । देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना गर्ने जस्ता काम गरेर आफ्नो कार्यकालमा राम्रो काम गरिसकेको तर अव उनले संसदीय दलको नेतामा अर्काे कुनै नेतालाई अगाडी सारेर आफु पस्तावक बन्नुपर्ने महामन्त्री शर्माको देउवालाई सुझाव थियो ।

कांग्रेसको संसदीय दलको चुनाव भोलि बिहान हुँदैछ । त्यसका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गराइादैछ । ‘प्रधानमन्त्री शेरबहादुर देउवा जसले धेरै कर्महरु देशको लागि गर्नुभएको छ । उहाँले गरेका राम्रा कर्महरु धेरै छोपिएका छन् । कमैयाको मुक्ति भएर एउटा घरबाट बेचिएर अर्को घरमा जाने चलन अन्त्य भयो, दलित, महिला आयोगहरु उहाँकै नेतृत्वमा शुरु भएको हो । उहाँले गरेको यी राम्रा कर्महरु बारम्बार प्रधानमन्त्री भइरहनेको नाममा छोपिएका छन् । यो बेला उहाँका सामुन्ने पनि के अवसर छ भने म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ । उहाँको सम्मानजनक बहिर्गमन हुनेछ’ महामन्त्री शर्माले भने,–‘यदी उहाँले जनजातीबाट प्रकाशमान सिंह, प्रतिष्पर्धी डा. शेखर कोईराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधी, बिपीको छोरालाई दिन्छु भनेर डा. शशांक कोईराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएको राम्रा कामहरु माथि आउनेछन् ।’

महामन्त्री शर्माले प्रधानमन्त्री र राष्ट्रपतिको यो देशलाई जति खोजि छ, त्यो भन्दा धेरै खोजि देशलाई अभिभावकको रहेको भन्दै ५ वर्ष प्रधानमन्त्री भईसकेकोले अर्काेलाई विनाहिचकिचाहट छोडनुपर्ने बताए । ‘हामीले त्याग गर्न सकेका छौँ भने ५ पटक प्रधानमन्त्री भइसकेको मान्छे अब साथीहलाई छोडिदिन्छु भनेर कुनै हिच्किचाहट छोड्नुहुन्छ भन्ने मलाई लाग्छ । आज साँझ हुने उम्मेदवारी दर्तामा शेरबहादुर देउवाको नाम संसदीय दलको नेताको रुपमा होइन, संसदीय दलको कुनै अर्को नेतालाई प्रश्तावकको रुपमा हेर्न पाइनेछ । म संसदीय दलको नेतामा गगन थापालाई राखेर प्रस्तावक बन्न उभिनेछु,’ महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) ले अहिले सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मबिरुद्ध जान नहुने बताए । उनले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताए ।

‘मैले आफ्नै पार्टीको सभापति, माओवादीको अध्यक्ष, एकीकृत समाजवादीको अध्यक्षलाई पनि अपिल गर्नुछ की चुनावमा जाँदा एउटा गठबन्धन बनाउने, चुनाव सकिएपछि सत्ताको आकंक्षाको जगमा अर्को गठबन्धनको खोजि गर्ने कर्म हामी कसैले गर्नु हुँदैन । विभिन्न आलोचनालाई चिरेर गठबन्धनले एउटा परिणाम ल्याएको छ, त्यसैले सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्छ,’ विश्वप्रकाशले भने,–‘माओवादी अध्यक्ष प्रचण्डलाई भन्दै गर्दा अहिले चर्चामा आएजस्तो अलग्गै रुपमा उभिनु हुन्छ कि भन्ने चर्चालाई हामी कुनै शंकाको रुपमा लिँदैनौँ । प्रतिगमनको क्षणलाई बिर्सिनु हुँदैन । पूरा ५ वर्ष एउटै प्रधानमन्त्रीले चलाउनु हुन्न हामीलाई थाहा छ । आलोपालोको विकल्प छैन ।’ महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुप्रतिको विश्वास टुटने पनि बताए ।