आगामी हप्ता उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

होमल्याण्ड खबर

२०७९ पुष ७ गते, बिहीबार १५:२९ मा प्रकाशित

बाटो मर्मतको काम गर्नु पर्ने भएकाले आगामी हप्ता काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ ।

यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी हप्ता व्यवस्थापनको काम नहुने भएको हो ।

सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरलाई केही दिन फोहोरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो ।

शुक्रबारदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

बाटो मर्मतले यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरका गाडी अन्तिम व्यवस्थापन स्थलसम्म पुग्ने गरेका थिए । महानगरले आज एक सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिकटन फोहोर निस्किने गर्दछ ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।