सरकारमा आउने प्रस्तावपछि राप्रपाले बोलायो आकस्मिक बैठक

होमल्याण्ड खबर

२०७९ पुष १० गते, आईतवार १४:३६ मा प्रकाशित

सरकार बनाउन नेकपा एमालेले प्रस्ताव गरेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीलाई भेटेर फर्केपछि बैठक बोलाएका हुन्।

एमाले अध्यक्ष ओलीले अन्तिम समयमा सरकार बनाउनुपर्ने भएकाले सहयोग गर्न आग्रह गरेका छन्। झापाबाट काठमाडौं आएका लिङ्देन सिधै बालकोट पुगेका थिए।

बालकोटमा १३८को आँकडा पुर्‍याउने छलफल भए पनि उनी फर्केर पार्टी बैठकमा सहभागी भएका हुन्। राप्रपा सरकारमा नजाने तर अन्तिममा सरकार नै बन्न नसकेमा आफूहरुले सहयोग गर्ने भन्दै आएका थियो।

राप्रपाका एक महामन्त्रीले पार्टीको छलफल सुरु भएको र सरकारमा जाने वा नजानेबारे निर्णय लिने बताए। एमालेसँग तालमेल गरेर मंसिर ४ गतेको निर्वाचनमा राप्रपाले भाग लिएको थियो। राप्रपासँग १४ सिट रहेको छ।