प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७९ पुष १५ गते, शुक्रबार १०:३४ मा प्रकाशित

 प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीवेर अगाडीबाट दुई नेताको भेटवार्ता भएको हो । वार्ता अहिलेपनि जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

बिहिबार सत्ता गठबन्धन दलले सरकारसँग सहकार्य र समन्वयका लागि एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेपछि ओली र प्रधानमन्त्रीका वीचमा भेटवार्ता भएको हो । गठबन्धन दलले ५ दिनभित्र सरकारको नीति तथा कार्यक्रम ल्याउने समझदारी बिहिबारको बालुवाटार बैठकमा गरेका थिए ।

नीति तथा कार्यक्रम तय गर्न उपप्रधानतथा अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा अलग्गै समिति बनेको छ । ओलीको नेतृत्वमा बनेको संयन्त्रमा भने सत्ता गठबन्धनका शीर्ष नेताहरू रहेका छन् । संयन्त्रले आवश्यकताअनुसार सरकारलाई मार्गनिर्देशनसमेत गर्न सक्ने बताइएको छ ।

प्रदेश अधिवेशन धमाधम आह्रवान हुन थालेको र संघीय संसदको पनि बैठक आह्रवान भएको र सरकारले संसदबाट आगामी पुस २९ मा विश्वासको मत समेत लिने तयारी गरिरहेको छ । सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाइ पनि सहभागी गराउने प्रधानमन्त्रीको तयारी छ ।

नेपालको पार्टीलाई मूल घरमै फर्काउन एमाले नेताहरुले पनि कोसिस जारी राखेका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका मुद्दा थाती राखेर पहिले सरकार साझा न्यूनतम कार्यक्रम बनाउने र त्यो वीचमा आन्तरिक गृहकार्यमा शाक्ति वाँडफाँडमा पनि कुरा गर्ने गठबन्धन दलको तयारी छ । त्यही क्रममा अहिले ओली र प्रधानमन्त्री प्रचण्डका वीचमा छलफल जारी रहेको बताइएको छ ।