समाजवादी केन्द्र निर्माणमा झलनाथलाई मनाउने उपेन्द्रको कोसिस

होमल्याण्ड खबर

२०७९ पुष १५ गते, शुक्रबार १६:१० मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव शुक्रवार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवास पुगे । दुई नेतावीच झण्डै ढेड घण्टा लामो सम्वाद भयो । दुई नेताका वीचमा मात्र भएको यो सम्वादलाई दुवै पार्टीभित्र अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार निर्माणमा सहयोग गरेका तर सरकारमा सहभागी भईनसकेका जसपा र निर्णायक समिकरण निर्माणमा आफुलाई थाहापत्तो समेत नदिई एक्लै सुटुक्क एमाले अध्यक्ष केपी ओलीसँग समिकरण बनाएर प्रधानमन्त्रीमा पुगेका प्रचण्डसँग मन अमिलो बनाईरहेको एकीकृत समाजवादी सरकारमा सहभागी हुने या नहुने दुविधामा वसिरहेका बेला जसपाले सस्थागत रुपमा नै एकीकृत समाजवादीसँगको सम्वन्ध विस्तार अभियान थालेको हो ।

माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका वीचमा चुनाव अगाडी पनि पार्टी एकता सम्म गर्ने विषयमा छलफल चलेको थियो । त्यो छलफलमा पनि वामपन्थी एकतामा एकीकृत समाजवादीको जोड थियो भने उपेन्द्र नेतृत्वको जसपाको समाजवादी केन्द्र निर्माणमा जोड थियो । चुनाव पछि पनि यी दुई पार्टीले नयाा शिरावाट फेरि एकता प्रयास अगाडी बढाउन सकिन्छ की भन्ने ध्ययेले छलफल अगाडी बढाएका छन् ।

त्यही क्रममा उपेन्द्र र झलनाथ खनालका बीचमा सम्वाद भएको हो ।

उपेन्द्य्रको समाजवादी केन्द्र बनाउने प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सकारात्मक छन । तर सम्मानित नेता झलनाथ खनाल अझै वाम एकताको जोडमा लागेका कारण उनलाई फकाउन उपेन्द्र खनाल निवास डल्लु पुगेको देखिन्छ । शुक्रबारको भेटमा पनि यादव र खनालबीच समाजवादी एकता र वाम ध्रुवीकरण र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे विषयमा छलफल भएको जसपा नकिट स्रोतले बताएको छ ।

‘अध्यक्ष यादवले समाजवादी एकताको विषयलाई आफूले अगाडि बढाउन चाहेको बताएका थिए । तर खनालले वाम ध्रुवीकरणमै जोड दिएका थिए ।

एकीकृत समाजवादीमा जनता समाजवादीसँग एकता गर्ने विषयमा एकमत छैन् । खासगरी नेता खनालले समाजवादी एकता भन्दा बढ्ता वाम एकतामा जोड दिँदै आएका छन् । जसपामा पनि नेता अशोक राई लगायतका नेताहरु समाजवादी एकता भन्दा वाम एकताको पक्षमा देखिएका छन् ।

तर, वाम एकतामा आफ्नो राजनीतिक हैसियत नदेखेका जसपा अध्यक्ष यादवले समाजवादी एकतामै जोड दिइरहेका छन् । ‘अध्यक्ष यादव नै वामपन्थी हो । उहाँलाई वाम एकताका लागि कुनै समस्या छैन्, बरु वाम ध्रुवीकरण र एकताको वातावरण बनाउन उहाँले भूमिका खेल्नुपर्छ’, समाजवादीका एक नेताले भने ।