बागमती प्रदेशका सभामुख र उपसभामुखको निर्वाचन पौष २८ र २९ मा हुने

होमल्याण्ड खबर

२०७९ पुष १८ गते, सोमबार १२:०४ मा प्रकाशित

बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन यहि पुस २८ र २९ गते हुने भएको छ। सोमबार बिहान बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति तय गरेको हो।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न बसेको सर्वदलीय बैठकले प्रदेश सभाको कार्यसूची र सभामुख र उपसभामुखको निर्वाचनको मितिसमेत तय गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

प्रवक्ता गुप्ताका अनुसार प्रदेश सभाका सभामुख र उपसभामुखको निर्वाचनको लागि पुस २७ गते मनोनयन दर्ता गर्न मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमती भएको छ। बैठकको सहमतीअनुसारको सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव आजको प्रदेश सभा बैठकमा पेश गरेर अन्तिम रुप दिइने प्रवक्ता गुप्ताले बताए।

यसैगरी प्रदेश सभाको आजको बैठकमा प्रदेश सभा बन्द रहेको अवस्थामा सरकार संचालनको लागि मन्त्री परिषद्बाट जारी भएका ५ वटा अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको प्रवक्ता गुप्ताले बताए।

आजको बैठकमा प्रदेश सरकारले गत भदौ १ गते जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश–२०७९, प्रदेश निजामती सेवा अध्यादेश–२०७९, असोज १२ गते जारी गरेको प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश–२०७९, असोज ३० गते जारी गरेको प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश– २०७९, प्रदेश कृषि विकास अध्यादेश–२०७९ पेश गर्ने कार्यसूची रहेको छ।

प्रदेश सभाको बैठकमा दलीय रुपमा दलका नेताहरुले शुभकामना मन्तव्य राख्नेछन् भने निर्वाचितबाहेकका मन्त्रीहरुलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरु सहमत भएका छन्।