एकीकृत समाजवादी पोलिटब्युरो बैठकः रामकुमारीदेखि मुकुन्द न्यौपानेसम्मलाई कारबाहीको माग

होमल्याण्ड खबर

२०७९ पुष १९ गते, मंगलवार १५:५० मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीदेखि नेता मुकुन्द न्यौपानेलगायत झन्डै १२० जना नेताहरुमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । सोमबारबाट जारी सो पार्टीको मंगलबारको पोलिटब्युरो बैठकमा चुनावी समीक्षाका क्रममा नेताहरूले यस्तो माग गरेका हुन् ।

‘मंसिर ४ को निर्वाचनमा भोट हाल्न नजाने १२० जनजाति केन्द्रीय सदस्यसहित नेता मुकुन्द न्यौपाने र सचिव रामकुमारी झाँक्रीमाथि कारबाही गर्नुपर्छ भन्ने धारणा नेताहरूले राखेका छन्’, एक पोलिटब्युरो सदस्यले बैठकमा नेताहरूले राखेको धारणालाई उद्धृत गर्दै भने, ‘भोट हाल्न समेत नजाने नेतामाथि छानबिन हुनुपर्छ र तत्काल कारबाही गर्नुपर्छ ।’

नेता न्यौपाने र सचिव झाँक्रीले फरक पार्टीको पैरवी गरेकाले उनीहरूमाथि कारबाही हुनुपर्ने माग उठेको हो । पछिल्लो समय नेता न्यौपानेले एमालेसँग पार्टी एकता गर्नुपर्छ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् ।