सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोलि शीर्ष नेतासमक्ष पेस गरिने

होमल्याण्ड खबर

२०७९ पुष २२ गते, शुक्रबार १७:१७ मा प्रकाशित

सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको कार्यदल बैठकबाट साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको हो ।

उक्त मस्यौदा प्रतिवेदन शनिबार शीर्ष नेताहरूलाई बुझाउने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । शीर्ष तहबाट पारित भएपछि उक्त कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ ।

साझा कार्यक्रममा सबै दलका एजेन्डालाई समावेश गरिएको उनले बताए । सुशासन, जनतालाई परिवर्तनको आभास हुने गरी कार्यक्रम तय गरिएको ढकालले जानकारी दिए ।

यही पुस १४ गते गठित कार्यदलमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सहभागिता छ ।